दुर्भाग्य नै भन्नुपर्छ,हाम्रो नेपाल विश्वकै दोस्रो गरिब राष्ट्र। जतिसुकै गरिब र अविकसित भएपनि विगत डेढ दशकमा यहाँ IT क्षेत्रमा भएको द्रुत विकासलाई भने मान्नैपर्छ। त्यसैले नेपालको कुनै पनि ठाँउ आज अलग्गै जिल्ला वा गाँउ बनेर रहेको छैन। नेपालको कुन कुनामा के भैरहेकोछ छिनभरमै थाहा पाउन सकिन्छ। कुनै समय थियो जतिखेर कुनै एकठाँउमा घटेका मह॒- त्वपूर्ण घटनाबारे अर्कोठाँउका मानिसहरु अनभिज्ञ रहन्थे। तरपनि १५/२० दिन हिडेर चिठ्ठीपत्र तथा खबर आदानप्रदान गरिन्थ्यो र एकअर्काबारे जानकारी पाइन्थ्यो। तर विश्वसंचार क्षेत्रको व्यापक विकासले गर्दा अहिले यस्ताकुराहरु एकदमै सहज भएका छन्, जसबाट नेपालपनि अछूतो रहन सकेको छैन। नेपालमा पनि टेलिफोन,टेलिभिजन अनि कम्प्यूटर प्रयोगकर्ताहरुको संख्या दिन-प्रतिदिन बढ्दैगइरहेको छ। रेडियो नपुगेको त सायद नेपालको कुनै ठाँउ छैन र टेलिफोन,टेलिभिजन नपुगेका ठाँउहरुपनि औंलामा गन्न सकिने मात्र छन्। सूचनाप्रविधिको संजालले विश्वनै साँघुरिरहेको अवस्थामा यो विशाल नेपालपनि आज एक सानो सहर बन्न पुगेको छ।
सूचनाप्रविधिको कुरा गर्दा सबैभन्दा आधुनिक विकासको अनुपम उपहार हो- कम्प्यूटर,जसबिना सम्पूर्ण IT क्षेत्र अधूरो रहन्छ। तरपनि कम्प्यूटरको लागत मूल्य बढी पर्नेभएकोले सर्वसाधारण नेपालीको खासै पहुँच पुग्न सकेको छैन। दिन-प्रतिदिन मूल्य घट्दै- जानाले यसका प्रयोगकर्ताहरु भने अवश्यै बढ्दैगइरहेका छन्। कम्प्यूटरका बारेमा सुन्नेहरुले देख्न पाएका छन् भने देख्नेहरुले चलाइरहेका होलान्। सर्वसाधारणहरुको पनि प्रत्यक्ष वा अप्रत्यक्षरुपले कम्प्यूटरसँग साइनो गाँसिइसकेकोछ। झन् अचेल त राष्ट्रका सरकारी कार्यालयहरुमा समेत कम्प्यूटरको प्रयोग बढ्दो छ। कतिपय जिल्लामा त नागरिकता वितरण समेत कम्प्यूटर प्रणालीबाट भैरहेको छ। यसलाई एउटा उपलब्धिनै मान्न सकिन्छ र सहजै अनुमान लगाउन सकिन्छ कि कम्प्यूटर भित्रिएको केहि वर्षमा नेपालले सूचना क्षेत्रमा कति ठूलो फड्को मारिसकेको रहेछ।
ग्रामवेलले टेलिफोनको अविष्कार गरि संचारक्षेत्रमा नौलो आयाम थपे। टलिभिजनको अविष्कार भएपछि त मानिसहरुले घरमै संसार देख्नसक्ने भए। उच्चप्रविधिको विकाससँगै मानिसहरु सुविधासम्पन्न हुदै गए। कम्प्यूटरको विकास भएपछि त मानिसहरु नयाँ युगमा पदार्पण गरेका छन्। विश्वको संचार जगतलाई उच्चतम विन्दुमा पुर्याउन विभिन्न कम्पनी/संगठनहरुको महत्वपूर्ण योगदान छ,जसमा अग्रपंक्तिमा IBM,APPLE,MICROSOFT,ORACLE जस्ता विश्वकै धनी संगठनहरु आउछन्। यी संगठनहरु धनी हुनुको पछाडि पनि एउटै रहस्य छ-विश्व संचार क्षेत्रमा यिनीहरुले पुर्याएको योगदानको प्रतिफल। प्रतिस्पर्धात्मक व्यावसायिक युगमा यस्तै अरु धेरै संगठनहरु उदाएका कारण आज IT उपकरणहरुको मूल्य र आकार घट्दैछ भने कार्यक्षमता बढ्दैछ। यसले गर्दा नेपाली उपभोक्ताहरुले पनि सर्वसुलभरुपमा उपभोग गर्न पाएका छन्।
नेपालको जटिल भूबनोटले गर्दा सूचना-प्रविधिको क्षेत्रमा सोचेजस्तो विकास पक्कै पनि भएको छैन। अस्थिर सरकार,आन्तरिक मामिला र अन्य विभिन्न कारणले गर्दा IT विकासकालागि विदेशी लगानी नेपाल भित्रिन सकेको छैन। काठमाण्डौ विश्वविद्यालयको छेउमै रहेको नेपालकै पहिलो IT Park निर्माण कार्यपनि बिचमै रोकिएको छ,जस्को पूर्णता नेपालको सूचना-प्रविधिको क्षेत्रको विकासकालागि कोशेढुङ्गा सावित हुनसक्छ। संगैको छिमेकी राष्ट्र भारतले IT क्षेत्रमा गरेको प्रचुर विकासले विश्वमै तहल्का मच्चाइरहेको छ। त्यसको प्रभाव अवश्यै पनि नेपालमा परेको छ। ITक्षेत्रको विकासका लागि भारत हाम्रोलागि आदर्श मुलुक हुनसक्छ। त्यसैले भारतमा फस्टाएको टेक्नोलोजी नेपालकालागि कत्तिको उपयुक्त छ,अध्यन गर्नु जरुरी छ। सम्पूर्ण नेपालीलाई आधुनिक विकासको उच्चतम स्वाद दिन सबैभन्दा पहिले सूचना-प्रविधिको क्षेत्रको विकास नितान्त आवश्यक छ।
साक्षरता % नै कम रहेको नेपालमा अहिले नै IT क्षेत्रको विकास हुन असम्भव छ भन्नु पूर्णत गलत हो। उदाहरणका लागि नजिकैको छिमेकी भारतलाई लिन सकिन्छ। केही वर्ष अघिसम्म साक्षरता ५०% भन्दा कम रहेको यो देशले आज IT क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। कुनैपनि क्षेत्रको विकास एकैचोटि हुदैन। यो त निरन्तर अगाडि बढ्दैजाने प्रक्रिया हो। नेपालको कुरा गर्दा वर्षौदेखि संचार क्षेत्रको अग्रणी रहेको नेपाल टेलिकमको एकाधिकार तोड्दै आज स्पाइस नेपालले आफ्नो सेवा प्रदान गरिरहेको छ। नेपाल टेलिभिजनलाई माथ दिनसक्ने धेरै च्यानलहरु आइसकेका छन्। FM रेडियो हरुको त गन्नै नसकिने स्थिति छ। सूचना-प्रविधि बजारमा स्वश्थ प्रतिस्पर्धा भएमा आम नेपाली उपभोक्ताले सर्वसुलभ ढङ्गले सेवा पाउने कुरामा दुईमत छैन। त्यस्तै चैत्रको अन्तिम सातातिर सम्पन्न CAN-INFOTECH मा विभिन्न कम्पनीहरुको उल्लेखनीय सहभागितालाई ठूलो उपलब्धि मान्न सकिन्छ। जसमा ११० कम्पनीका १८० स्टलहरु थिए र करिब तीन लाख नेपालीहरुले त्यसको अवलोकन गरेका थिए। यसबाट नेपालीहरुको नयाँ-नयाँ प्रविधितर्फको उत्सुकता सजिलै मूल्याङ्कन गर्न सकिन्छ।
कुनैपनि देश आफै पूर्ण हुदैन। त्यहाँका जनताको निरन्तर मेहनत र परिश्रममा त्यो देशको भविष्य लुकेको हुन्छ। दोस्रो विश्वयूद्धमा ध्वस्त जापान आज जुनसुकै क्षेत्रमा पनि अगाडि छ। त्यो त्यहाँका जनताहरुको परिश्रमको प्रतिफल हो। अमेरिका विश्वकै सर्वशक्तिमान र सम्पन्न राष्ट्र हो,तर त्यो राष्ट्रपनि पूर्ण भने छैन। दु:खको कुरा के भने त्यहाँ वर्षेनी धेरै मानिसहरु क्यान्सरबाट मर्ने गर्छन्। त्यहाँका डक्टरहरुको योगदान के त? के तिनीहरुले त्यहाँका जनतालाई सकेजति सेवा दिईरहेका छैनन् त? अवश्य छन्,उनीहरु आफूसक्दो प्रयास गरिरहेकै छन्। सफलता एक रातमै पाइने चिज होइन,त्यो त कडा अनि निरन्तर परिश्रमको प्रतिफल हो। त्यसैले हामी नेपालीले पनि अगाडि बढेर काम गर्ने हो भने IT क्षेत्रमा प्रगति गर्ने सर्वोच्चतम राष्ट्रको हाराहारीमा पुग्न सक्छौ। नेपालका आन्तरिक समस्या समाधान भए सूचना प्रविधिमा सबैले चासो देखाएमा भविष्यको कुनै दिन विश्वकै IT क्षेत्रका महान हस्तीलाई समेत उछिनेमा कुनै आश्चर्य हुनेछैन।
साभार:Tek Raj Bhatta(KUCC Express)